निकुञ्जका श्याम शरणको गुनिला कुरा 

NepalDetail

निकुञ्जका श्याम शरणको गुनिला कुरा 

सुभाषचन्द्र देवकोटा
यो कथा उमेरले ६३ वर्ष पार गरेका तर मन र उत्साहले तन्देरी श्याशरण श्रेष्ठको हो । काठमाडौँको साँखुमा माता पद्मादेवी श्रेष्ठ र पिता चन्द्रबहादुर श्रेष्ठका तीन भाइ छोराहरू मध्ये कान्छो छोराको रूपमा जन्मेका श्याशरणले काठमाडौँको धुलोमा लड्दै पड्दै बाल्यकाल बिताए । १८ वर्ष नहुँदै २०३६ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागमा सहायक भएर जागिरे  भए ।

जागिरमा छिरेपछि उनको जीवनको बाटो नै मोडियो । उनको दिन चर्या नै वन्यजन्तुका संरक्षणका कुराहरू सुनेर बित्न थाले । कुनै बेला घर नजिकै पाखामा स्याल कराउँदा पनि झस्किने श्याशरण बाघ, गैँडाका हात्तीहरूका कुरा गर्ने भए । बाघ,गैँडा, हात्तीहरूको स्वर सुन्दा सकुन् मान्ने भए । उनको जीवनको रङ्ग, ढङ्ग नै बदलियो ।

उनले पहिलो जागिरको सुरुवात शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय, कञ्चनपुरबाट गरे । पहिलो पटक घर छोडेर त्यति टाढा जाँदा त्यस बेला उनलाई कम्ती गाह्रो भएको थिएन । तर घरको आर्थिक हालतले त्यो सकसलाई उनले ह्याकुलाले नै मिचे । जहाज र भारतको रेल बाटो हुँदै उनी पहिलो पटक कञ्चनपुर पुगेका थिए । त्यो यात्रा सम्झँदा अहिले पनि उनी रोमाञ्चित हुन्छन् । त्यस अघि काठमाडौँ  उपत्यका बाहिर एक पाइला पनि नराखेका श्याशरणलाई भारतमा रेल चढेर कञ्चनपुरसम्म पुग्नु सगरमाथा चढे जत्ति कै लाग्यो रे ।
शुक्लाफाँटाको बसाई उनका लागि जीवन बुझ्ने पाठशाला बन्यो । त्यो पाठशालाले उनलाई प्रकृति, जीवजन्तु र मान्छेको सम्बन्धलाई बुझ्न सिकायो । शुक्लाफाँटाको बसाइँमा उनले स्वर्गीय राजा वीरेन्द्रसँग साक्षात्कार गर्ने मौका मात्र होइन,उनको हातबाट पुरस्कार लिने अवसर पनि पाए । उनी भन्छन् “म जस्तो अति सामान्य मान्छेका लागि राजाको हातबाट पुरस्कार पाउनु असामान्य अवसर थियो । ”

जागिर कै सिलसिलामा २०४१ साल तिर सरुवा भएर उनी खप्तडमा राष्ट्रिय निकुञ्जमा पुगे । खप्तडमा उनले करिब तीन वर्ष बिताए । डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम स्थल खप्तड स्वर्गको टुक्रा धर्तीमा खसे जस्तै लाग्छ उनलाई । उनी भन्छन् “अछामको रामारोशन, बाजुराको बडिमालिका र खप्तड सुदूरपश्चिम कै प्राकृतिक अनुपम वरदान हुन् ।” तर, यत्रो ठुलो पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकासमा पनि सरकारहरूले ध्यान नदिएकोमा भने उनलाई आश्चर्य लाग्छ ।खप्तडका हरिया पहाड र पाटनहरू, त्यहाँका प्राकृतिक फूलबुट्यानहरु उनको लागि जीवनको अर्को पाठशाला बन्यो । खप्तड पुग्नुलाई उनी आफ्नो जीवनको अहोभाग्य ठान्छन् । खप्तड बसाइँमा उनले बिरलैले पाउने खप्तड बाबाको दर्शन र सेवा गर्ने अवसर पनि पाए । खप्तड बाबाको भेटले उनलाई जीवन बुझ्न झन् सजिलो बनायो । त्यसपछि उनलाई प्रकृतिको मायाँ नै जीवन रै छ जस्तो लाग्न थाल्यो । प्रकृति त सबैसँग मिलेर बसेको छ, तर मान्छेहरू किन मिलेर बस्न सक्दैनन् ? उनी आफैलाई उल्टै प्रश्न सोध्छन् । स्कुलको पढाइ त उनको जम्मा तीन कक्षासम्म न हो । तर जीवन भोगाइको पडाइले उनलाई अब्बल बनायो । जीवन र प्रकृति बुझ्ने बनायो । जीवन र जगत् प्रति दयालु बनायो ।श्यामशरण एउटा कार्यालयबाट अर्को कार्यालयमा हुने सुरुवालाई प्रकृति प्रेमको अनुभूति गराउने सुन्दर अवसर मान्छन् । शुक्लाफाँटामा जङ्गली हात्ती,बाघहरूको गर्जन र चराहरूको सुसेली सुन्दै रात बिताएका श्यामशरणले खप्तडका हरिया पाटनमा लडीबुडी गर्न भ्याएका छन् । रसुवाको लाम्टाङ् बसेर सेता हिमालको काखमा  आफ्नो छाया हेरेका छन् । मुगुको स्वर्गकी अप्सरा रारा तालमा डुबुल्की लगाएर प्रकृतिको रस स्वाद लिन भ्याएका छन् । त्यसैले त उनी भन्छन् ”जागिरको कमाई भनेको फेरी पनि यात्राको मज्जा लिनु रहेछ ।”
उनले सरकारी जागिरमा ४० वर्ष बिताए । जति बिताए रमाए रै बिताए । ठुला, साना सबै हाकिमहरूको सङ्गत पनि गरे । उनीहरुसंँगको सङ्गतले धेरै कुरा जान्ने बुझ्ने मौका पनि पाए । उनलाई कहिल्यै कसैसँग कुनै गुनासो रहेन । उनी भन्छन् “सबैले आफ्नो कर्मको भोग गर्ने हो । उनी आज जे छन् आफ्नै कर्मको फल भोगी रहेका छन् । यसमा कसलाई के गुनासो गर्नु र ?“ । सानो तहको जागिरे भए पनि उनले सधैँ मन ठुलो बनाए । उच्च मनोबलका साथ काम गरे ।उमेर हदले गर्दा जागिरबाट उनी २०७६ साल मङ्सिर मै रिटायर भए । तर उनको राम्रो काम र व्यवहारको पुरस्कार स्वरूप विभागले पुनः उनलाई करारमा कार्यालय सहयोगीको रूपमा नियुक्ति दिएको छ । उनी त्यसमा खुसी पनि छन् । आज पनि उनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागको परिसरमा एउटा सानो कोठामा परिवारसँग रमाई रहेका छन् ।उनले आफ्नो जीवनको अधिकांश ऊर्जा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागमा मै समर्पित गरे । फिल्डमा बसेर वन्य जन्तु संरक्षणमा लाग्नु सजिलो पक्कै सजिलो काम होइन । त्यसैले जीवनका रहरहरू थाती राखेर फिल्डमा खट्नेहरूका लागि सेवा, सुविधाहरूमा सरकारले विशेष ध्यान दिनु पर्छ भन्ने उनको भनाई छ ।
जीवन सोचे जस्तो हुँदो रहिनछ । उनले जीवनका थुप्रै उकाली ओरालीहरू गरे । धेरै दुःख र कष्टहरूसँग जुधे । तर पनि उनका जीवनका दुःखहरू सकिएका छैनन् । उनी भन्छन् “जीवनको दुःख त रुखका पात जस्तै रहिछ । जसरी पात सुकेर रुखबाट खस्छ र फेरी अर्को पात पलाउँछ त्यसै गरी मान्छेका दुःख पनि एउटा पछि अर्को गर्दै पलाउँदो रहिछ ।”
उनका दुई जुम्ल्याहा छोरीहरू छन् ,आस्था र आस्मा । आस्था वाल खैमा अशक्त भइन् । उनको २४सैं घण्टा हेरचाह गर्नु पर्ने अवस्था छ । आस्थाको लागि चाहिने महँगो उपचार खर्च धान्नै मुस्किल । श्यामलाई यै छोरीको चिन्ताले सताउँछ आजकल । अर्की छोरीलाई दुःख जिलो गरेर उनले ए.बि.ए.सम्म त पढाए तर जागिर मेसो मिल्न सकेको छैन । छोरीलाई कुनै वित्तीय संस्थामा जागिर खुवाउन  सकेमा जीवन केही भए पनि सरल हुन्थ्यो कि भन्ने उनलाई लागेको छ । तर त्यो इच्छा पुरा गर्ने बाटो भने उनले अझ सम्म पहिल्याउन सकेका छैनन् । तर आस पनि मारेका छैनन् ।
उनले ४० वर्ष जागिर खाए । तर पनि उनीले नत  शिर छोप्ने घर उभ्याउन सके ,न त दुई बित्ता घडेरीको जमिन जोड्न सके ।  तर पनि श्यामको कसैसँग केही भन्नु छैन । काठमाडौँ साँखुमा अति सामान्य परिवारमा जन्मेका श्यामले जागिरको सिलसिलामा देशका तराई,पहाड, हिमाली धेरै ठाउँहरू पुगे । प्रकृतिको आनन्द लिए । उनी भन्छन् ”म धनको धनी छैन । तर मनको धनी छु र खुसी छु । चुनौतीहरूको बाबजुद पनि म सन्तोषमा रमाइरहेको छु । ” उनले आफ्नो जीवनमा आधारित जीवनको भोगाइ र अनुभूतिहरू नामक पुस्तिका पनि भरखरै प्रकाशित गरेका छन् । यो पुस्तिका प्रकाशित गरे पछि उनलाई धेरैले बधाई पनि दिए ।
श्याम भन्छन् ”जीवनको त के भरोसा छ र ? एक मुठ्ठी सासमा अड्केको मान्छेको जीवन के को रिस राग गर्नु । को सँग गुनासो गर्नु । बिना विदेश इमानको खानु नै जीवनको सुख रहेछ । धर्म पनि आखिर त्यै रहेछ । म त्यै धर्म निर्वाह गरिरहेको छु । हो श्यामको गुण नै यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position