पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

काठमाडौं । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।
लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।
“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,”उहाँले भन्नुभयो । यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।
खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताउनुभयो । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल