सङ्खुवासभामा खड्का भन्दा गौतमको पकड बलियो

NepalDetail

सङ्खुवासभामा खड्का भन्दा गौतमको पकड बलियो

सङ्खुवासभा । दीपक खड्का र राजेन्द्र गौतम सङ्खुवासभाका मतदाताका लागि नयाँ अनुहार हैनन् ।

तेस्रो पटक आमनेसामने हुन लागेका यी दुईसँगै सङ्खुवासभाबाट यो पटक प्रतिनिधि सभाका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना राजनीतिक दलका र २ जना स्वतन्त्र छन् । यी मध्ये गौतम र खड्काको तेस्रो भिडन्त हो । पहिलो पटक हार बेहोरेका गौतमले अघिल्लो निर्वाचनमा जीत हासिल गरे । त्यसपछि जनताको मन जित्न सफल भएका गौतम फेरी पनि बलियो पकटका साथ निर्वाचन जित्ने तयारीमा जुटेको बताउँछन् ।

विगतको चुनावको नतिजा र स्थानीय तह चुनावमा पाएको मतलाई आधार मान्दा यो पटक पनि नेपाली काँग्रेसका खड्का र नेकपा एमालेका गौतमबिच नै प्रतिस्पर्धा देखिन्छ । २०७० को चुनावमा सङ्खुवासभाको तत्कालीन क्षेत्र नम्बर २ मा खड्काले गौतमलाई हराएका थिए । गौतमले त्यसको बदला २०७४ को चुनावमा लिए ।

०७० को निर्वाचनमा खड्का ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए । त्यति बेला एमालेका गौतमले १० हजार ९ सय ७३ तथा माओवादीका राजेन्द्र किरातीले ४ हजार २९३ मत पाएका थिए । एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ को चुनावमा भने नतिजा उल्टियो, माओवादीको समेत साथ लिएर वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम विजयी भए । उनले ३२ हजार ७६९ मत ल्याए । एक्लै लडेका काँग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याए । २०७४ मा गौतमलाई साथ दिएको माओवादी यस पटक काँग्रेसका खड्काको सहयोगी बनेको छ, उनलाई एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीको पनि साथ छ । तर गौतम एक्लै फिल्डमा उत्रिए पनि गठबन्धनकै नेताहरूको साथ र मतदाताको रोजाइका कारण उनले निर्वाचन जित्ने सङ्खुवासभावासीको भनाई छ ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा सङ्खुवासभामा एमाले अघि छ । एमालेले वडाध्यक्षमा ३२ हजार ९११ मत पाएको थियो ।

तर गठबन्धनमा आबद्ध दलको मत जोड्ने हो भने काँग्रेस अघि देखिन्छ । काँग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२ र एकीकृत समाजवादीको १ हजार १०१ मत छ । यो सबै मत जोड्दा गठबन्धनको पक्षमा ३९ हजार ७२ मत हुन्छ ।

प्रदेशसभातर्फ सङ्खुवासभा १ मा एक स्वतन्त्रसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । तर गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङ बीचनै मुख्य प्रतिस्पर्धा देखिएको छ । यी दुवै नयाँ अनुहार हुन् ।

माओवादीका कार्कीलाई काँग्रेस, नेकपा एकीकृत समाजवादीको साथ छ । कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सङ्खुवासभा इन्चार्जको जिम्मेवारीमा छन् भने गुरुङ एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

सङ्खुवासभाको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित १० जनाले मनोनयन दर्ता गरेका छन् । तर गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा छ । प्रदेश सभा २ मा प्रतिस्पर्धामा रहेका यी दुवै उम्मेदवार पनि नयाँ अनुहार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position