मताधिकारको सही प्रयोग: नागरिक अधिकारको सदुपयोग
राजकुमारी खत्री
राज्यको उद्भव नै नेतृत्वको आवश्यकतामा आधारित भई भएको हो। राज्य विहिनताको अवस्थामा देखिएका असुरक्षा, भय, अशान्ति जस्ता समस्याहरू समाधान उपायको रूपमा नेतृत्वको जन्म भयो।एक्ला एक्लै बसेको मानव बिस्तारै सङ्गठित हुँदै बस्न थाले । मानिसहरूले बिस्तारै आफूमाथि शासनको अधिकार नेतृत्वलाई दिए। फलस्वरूप परिवार, समाज र राज्यको निर्माण भयो।यसलाई सङ्गठित रूपमा चलाउन अधिकार सम्पन्न नेतृत्वको विकास भयो।
अधिकारले सुसम्पन्न नेतृत्व कर्तव्यविमुख हुने, निरङ्कुश तवरले चल्ने, नागरिकको अधिकारको दुरुपयोग गर्ने साथै राज्य शक्ति परिवारवादमा सीमित हुने जस्ता समस्याहरू देखिए।यस्ता विचलनहरूलाई रोक्न लोकतान्त्रिक शासकीय व्यवस्थाको प्रादुर्भाव भएको हो । हालसम्म उत्तम उपायको रूपमा रहेको यस व्यवस्थामा निर्वाचन प्रणाली आधारको रूपमा रहेको हुन्छ ।निर्वाचनको माध्यमबाट नागरिकले आफ्ना प्रतिनिधि छनौट गरी शासन व्यवस्थामा सहभागी हुन्छन् र शासनलाई वैधता प्रदान गर्दछन्। यसले शासकलाई जनताप्रति उत्तरदायी हुनुपर्ने आधार निर्माण गर्दछ। उत्तरदायी राजनीतिक प्रणाली स्थापना हुन्छ।
लोकतान्त्रिक शासन व्यवस्था हाँक्ने नीतिको नीति राजनीतिमा सबैको चासो र सरोकार हुनुपर्छ। यसको गठन र विघटन हामीबाटै हुनुपर्छ भन्ने मान्यता स्वरूप विकास भएको संसारको हालसम्मको उत्कृष्ट र आदर्श शासनको रूपमा रहेको लोकतान्त्रिक शासन हामीले पनि अवलम्बन गरेका छौ। यो व्यवस्था दलमा आधारित भए पनि जनताबाट प्रभावित हुनुपर्छ । तर हामी कहाँ दलको शासनमा रूपान्तरित हुँदै गएको महसुस हुन थालेको छ।यस्तो प्रवृत्तिलाई रोकी जनतामा आधारित हुनुपर्छ भन्ने मान्यताको जगमा रहेर नै स्वतन्त्र, निष्पक्ष र नियमित निर्वाचन प्रणालीको विकास भएको हो।तसर्थ निर्वाचन प्रणाली भनेको नागरिकको अधिकार स्थापित गराउने प्रणाली हो त्यसैले त हामीले यतिको वृहत सार्वजनिक स्रोत खर्चेर निर्वाचन गर्नु परेको हो।
निर्वाचन दलहरूको अवसरभन्दा बढी नागरिकको अवसर हो। नागरिकले आफैमाथि शासन गर्ने अधिकार दिएका प्रतिनिधिले निर्वाह गरेको भूमिका, प्रदर्शन गरेको व्यवहार र जनताप्रतिको जबाफदेहिताको मूल्याङ्कन गर्ने सुवर्ण अवसर हो ।यो मूल्याङ्कन पद्धतिमा कुनै किसिमको अनुचित प्रभाव नपरोस् भनेर नै निर्वाचन आचारसंहिता निर्माण र कार्यान्वयन हुन्छन्।असल र खराब छुट्टाउन सक्ने जनता आफैमा आचार संहिताका कडी हुन अनैतिकताका छडी हुन।सुशासनका आधारशिला हुन। यो बन्नका लागि सबैभन्दा राम्रो अवसर मताधिकारको सही प्रयोग हो।
त्यसैले सम्भव हुने सबैले आफ्नो मताधिकारको प्रयोग विवेकमा आधारित भएर गर्नु पर्छ।मताधिकार एउटा स्वस्तिक छाप मात्र होइन ।आफैमाथि शासन गर भनेर प्रतिनिधिलाई सुम्पेको अधिकार हो। त्यसैले दाल, चामल, मासु, पेट्रोलको व्यवस्था हामीले सामान्य अवस्थामा जसरी गरिन्थ्यो अहिलेको अवस्थामा पनि त्यसरी नै गरौँ।यी कुराबाट प्रभावित नभईकन हिजोको नेतृत्वको निष्पक्ष मूल्याङ्कन र नेतृत्व लिनका लागि अग्रसर भएका नयाँ उम्मेदवारको नैतिकता, अनुशासन, क्षमता र दक्षताको सम्भावनाका आधारमा कतै र कसैबाट कुनै पनि प्रकारले प्रभावित नभईकन भोट दिनु हाम्रो अधिकारको प्रयोग र राज्यप्रतिको कर्तव्य पालना हो ।
हुन त नो नट अनेक जस्ता विषय पनि देखिएका छन्।यस्ता विषयले ठाउँ पाउनुका पछाडि अनेक कारण होलान्। यी विषयहरू उठ्नु नि पर्छ । त्यस्ता कारण, प्रभाव र असरको गहन विश्लेषण गरेर राज्यले सही निर्णय लिनुपर्छ।यस्ता बहस र विचारहरूले राज्यको सर्वोच्च नीतिका रूपमा रहेको राजनीति गर्नेहरूको चेत खुलाउँछ।सम्मानित अदालतले यस विषयमा आदेश पनि दिइसकेको छ । तर हाम्रो विधि र विधानले यसलाई आत्मसाथ नगरेसम्म नो नट अगेन फर ब्याड लिटरसिपमा प्रयोग गर्न सक्छौ ।
अहिले हाम्रो पहिलो हुने निर्वाचित हुने निर्वाचन ९सबैभन्दा बढी मत ल्याउनेले जित्ने प्रणाली भएको कारण हामी केहीलाई भोट दिन जाँगर नचले पनि प्रतिनिधि चुनिने नै छन्। त्यसैले सम्भव भएसम्म सचेत नागरिकको हैसियतले विवेकशील तवरले यही मङ्सिर ४ गते हुन गइरहेको सङ्घ र प्रदेशको नेतृत्व चुन्न मताधिकारको सही प्रयोग गरौँ ।
लेखक: नेपाल सरकारका शाखा अधिकृत हुन् ।