गठबन्धनलाई १८ महिनामै जनताले बुझी सके : गौतम

NepalDetail

गठबन्धनलाई १८ महिनामै जनताले बुझी सके : गौतम

काठमाडौँ । आसन्न निर्वाचनका लागि उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा छन् । देशभर उम्मेदवारहरू राष्ट्रिय राजनीति र विकासे एजेन्डा लिएर मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । मूलतः देशभर नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनकै बीचमा प्रतिस्पर्धा छ ।

प्रदेश १ को हिमाली जिल्ला संखुवासभामा १० राजनीतिक दलसहित १२ उम्मेदवार छन् । तर, कांग्रेस र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ एमालेका स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतम उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट कांग्रेसले जिल्ला सभापति दीपक खड्कालाई उठाएको छ । खड्का र गौतम तेस्रो पटक आमनेसामने भएका हुन् ।

पुरानै उम्मेदवार, पुरानै एजेन्डा । मतदातामाझ उति धेरै उत्साह भने छैन । तैपनि उम्मेदवारहरू सडक, जलविद्युत् र पर्यटन विकासलाई चुनावी मुद्दा बनाएर मतदातामाझ पुगिरहेका छन् । यसै सन्दर्भमा यहाँबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमाले स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतमसँग गरिएको कुराकानी :

तपाईं यसअघि यहीबाट निर्वाचित सांसद पनि हो । फेरि भोट माग्न जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

अहिले हामी चुनाव प्रचारप्रसारको अभियानमै छौँ । जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ । मैले एउटा उम्मेदवारको रुपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिको रुपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के(के काम भयो भनेर यहाँका जनताले छर्लङ्गसँग बुझेका छन्, अनुभूति गरेका छन् । सायद त्यसैकारण पनि जनताले मलाई सहजरुपमा स्वीकार गरेको अवस्था छ । जिल्लाको वस्तुस्थिति समेटेर उम्मेदवारहरूको तर्फबाट पार्टीको नाममा एउटा प्रतिबद्धतापत्र जनताको माझमा पुर्‍याएका छौँ । हाम्रो मूल प्रतिबद्धता भनेको समृद्ध संखुवासभा बनाउने नै हो ।

बितेको पाँच वर्षमा तपाईंले के-के काम गर्नुभयो र ?

जिल्लाको जनप्रतिनिधिको रुपमा हामीले यो पाँच वर्षमा धेरै कामहरू गरेका छौँ । अहिले संखुवासभाको मेरुदण्डको रुपमा रहेको जोगबनी(किमाथाङ्का सडक निर्माण भइरहेको छ । यसको खाँदबारी(किमाथाङका खण्डमा ट्य्राक ओपनकै काम भएको थिएन, असाध्यै चट्टानी क्षेत्र भएका कारण यहाँ हामीले सरकारमार्फत निर्णय गराएपछि अहिले नेपाली सेनाले ट्य्राक ओपनको काम गरिरहेको छ ।

ट्य्राक खोल्न बाँकी रहेको जम्मा ११ किमिमध्ये अहिले लगभग पाँच किमि ट्य्राक ओपनको काम भइसकेको छ । यही गतिमा काम भयो भने ०८१ लाग्दासम्म यो सडक हस्तान्तरण हुन्छ । जिल्लाको हकमा सबैभन्दा महत्त्वपूर्ण विकासको योजना यही नै हो जस्तो लाग्छ । अर्को, सवारी आवतजावतका लागि सडकपछि पुल अपरिहार्य हुन्छ । यो सडकअन्तर्गत जम्मा ९ वटा पुलहरू बन्नुपर्ने हो, त्यसमध्ये अहिलेसम्म ७ वटा पुलहरू निर्माण भइसकेका छन् । अहिले वरुण नदीमा पुल बनिरहेको छ । अर्को महत्त्वको योजना भनेको खाँदबारी लविङहिलदेखि नुमसम्मको सडक कालोपत्रेको हो । यहाँ एक अर्ब २७ करोडको ठेक्का लागेको छ । यो सडक जिल्लाको लाइफलाइन नै हो ।

अर्को सडककै कुरा गर्दा पूर्वपश्चिम राजमार्गसँग जोड्नका लागि हामीले तुम्लिङटार, लेगुवादेखि चतरा जोड्ने सडक निर्माणका लागि बजेट विनियोजन गराएका छौँ । यीबाहेक जिल्लामा थुप्रै रणनीतिक सडकहरू निर्माणाधीन छन् ।

हाम्रो जिल्लामा राम्रो सम्भावना भएको क्षेत्र पर्यटन पनि हो । पर्यटन प्रवर्द्धनका लागि हामीले तुम्लिङटार विमानस्थललाई व्यवस्थित गर्ने प्रयास गरेका छौँ । यसको टर्मिनल भवन जीर्ण अवस्थामा थियो, अहिले नयाँ भवन बन्दै छ । यो पनि महत्त्वपूर्ण काम हो भन्ने लाग्छ ।

यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरू छन्, जहाँ पर्यटन व्यवसायको राम्रो सम्भावनासमेत छ । जस्तो कि मनकामना, सभापोखरी, सिद्धकालीलगायत धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलहरू छन् ।

शिक्षाको क्षेत्रमा हामीले १२५ भन्दा धेरै विद्यालयहरूमा कुनै न कुनै पूर्वाधार विकास गर्ने काम गरेका छौँ । कहीँ भवन बनेको छ भने कहीँ खेल मैदान बनाइएको छ । खानेपानीको प्रबन्ध गरेका छौँ । घेराबारा गरेका छौँ । यस्ता कामहरू निरन्तर भइरहेका छन् ।

अनि अहिलेचाहिँ मतदातामाझ जाँदा कस्ता एजेन्डाहरू लैजानुभएको छ ?

हामीले गएको ५ वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तरता र पूर्णता नै अहिले मेरा चुनावी प्राथमिकताहरू हुन्, प्रतिबद्धताहरू हुन् । हाम्रोजस्तो भिरालो भूगोल भएको जिल्लामा सडक नभई कुनै उपाय नै छैन । त्यसैले सडक पूर्वाधारको राम्रो विकास गर्न आवश्यक छ । त्यो नै मेरो पहिलो प्राथमिकता हो ।

यसपछि शिक्षा क्षेत्रमा प्राविधिक र व्यावसायिक शिक्षामा हाम्रो जोड छ । अहिलेको निरन्तर शिक्षालाई व्यवस्थित गर्ने र सबै स्थानीय तहसम्मै प्राविधिक र व्यावसायिक शिक्षा पाउने वातावरण तय गर्ने मेरो प्रतिबद्धता हो ।

पर्यटनको क्षेत्रमा, जलविद्युत् विकास र प्रबर्द्धनको क्षेत्रमा अझै पनि थुप्रै कामहरू गर्नै बाँकी छन् । ती कामहरू गर्नुपर्ने छ । हामीसँग मकालु हिमाल छ । यो प्रतिबन्धित अवस्थामा छ, यसलाई आरोहणका लागि खुला गर्नुपर्छ भनिरहेको छु, मैले त्यसका लागि पहल गर्छु । त्यस क्षेत्रमा पदमार्गहरू निर्माण गर्ने र पर्यटकलाई आकर्षित गर्न सकिने अवस्था छ ।

कृषि तथा पशुपन्छी पालनको व्यावसायीकरणका लागि सीप विकास, बिमालगायतका योजना समेटेका छौँ । जलविद्युत् क्षेत्रमा पनि हामीकहाँ थुप्रै सम्भावनाहरू छन् । सबै सम्भावनाहरूलाई समेटेर हामीले योजनाहरू बनाएका छौँ । धेरै विषयहरू छन्, हामीले ती विषयहरूलाई प्रतिबद्धतापत्रमा लिपिबद्ध गरेर प्रस्तुत गरेका छौँ ।

फेरि चुनाव जित्नुहुन्छ त ?

अहिले मैले नै चुनाव जित्छु भनिहाल्ने अवस्था बनेको छैन । यो भनेको मूलतः हामी कहाँ दलबीचकै प्रतिस्पर्धा हो । त्यसमा अहिले नै कसले जित्छ भनेर भन्न सक्ने अवस्था बनेको छैन । मेरो विचारमा उहाँहरूको सुनिश्चित भन्ने अवस्था छैन । तर, म निकै आशावादी छु किनभने एकपटक सबै गाउँबस्तीमा पुगिसकेपछि सरसर्ती अनुभूति गर्न सकिन्छ । मैले अगुवा कार्यकर्ता, मतदातासँग अहिले जति कुरा गरेको छु, त्यो सकारात्मक नै पाएको छु ।

तपाईंका जित्ने आधारहरू के हुन् त ?

मैले जित्ने आधार भनेको यहाँको नेकपा एमालेको संगठन नै हो । हुन त अर्कोतिर गठबन्धन बनेको छ । तर, यहाँ गठबन्धनदेखि डराउनुपर्ने, अवस्था छैन । यहाँ तीन दलले तीन क्षेत्रमा उम्मेदवारी दिएका छन् । र, तीनवटै दलका उम्मेदवारहरू आ(आफ्नै लागि मात्रै मत मागेर हिँडिरहेको अवस्था छ । त्यसले मेरो जितलाई सहज बनाएको छ । यो चुनावमा राष्ट्रिय मुद्दाहरूको विषयमा मतदाताले जानेर, बुझेर निर्णय गरेर मतदान गर्ने विषय हो ।

मैले विगत पाँच वर्षमा जे जति कामहरू गरेको छु, योबीचमा नेकपा एमालले जति पनि विकास निर्माणका कामहरू गरेको छ । ती आधारमा हामीले जनतामाझ गएर मत माग्ने हो । त्यसकारण अहिले हाम्रो जिल्लामा उसको राम्रो, उसको नराम्रो भन्ने अवस्था आइसकेको छैन । दुईवटा दलहरू मिल्दा पनि गठबन्धनकै उम्मेदवारहरूसमेत ढुक्क भएको अवस्था छैन ।

फेरि स्थानीय तहमा गठबन्धनले जित्यो भन्दैमा आमनिर्वाचनमा त्यही हुन्छ भन्ने पनि हुँदैन । यो राष्ट्रिय चुनाव हो, त्यो भनेको राष्ट्रियताको सवालमा, सिमानाको विषयमा, विदेश नीतिको सवालमा नेकपा एमालेले कस्ता नीतिहरू लिएको छ भनेर हेरेर जनताले मतदान गर्ने हुन् । त्यसमाथि यो चुनाव भनेको अब शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो कि केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नेबीचको प्रतिस्पर्धा हो । यहाँ एउटा व्यक्तिले जित्ने वा हार्ने भन्ने प्रतिस्पर्धा नै होइन । अहिले १८ महिनामा गठबन्धनले जस्तो रबैया देखाएको छ, त्यसबाट जनता आजित भइसकेका छन् । जनताले सही निर्णय गर्छन् र म चुनाव जित्छु, यो मेरो दाबी हो । साभारः इकान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position