४० लाख सस्क्राइवको बुढासुब्बा युट्युब च्यानल ह्याक
काठमाडौं । नेपाली फिल्मको डिजिटल राइट्स खरिद गर्ने अग्रणी प्लेटफर्म बुढासुब्बा डिजिटलको यूट्युब च्यानल ह्याक भएको छ । यूट्युब ह्याक हुँदा बुढासुब्बाको अर्क्राइभमा रहेका सम्पूर्ण कन्टेन्ट हटेका छन् ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’ले पनि बुढासुब्बाबाट प्रचार सामाग्री सार्वजनिक गरिरहेको थियो । यो फिल्मको गीत, टिजर र ट्रेलर सबै यूट्युबबाट उडेको छ ।
अहिले बुढासुब्बा डिजिटलको च्यानलमा एक वर्ष अगाडि अपलोड भएको २० सेकेन्डको इन्ट्रोको एउटा भिडियो मात्र छ । ४० लाखभन्दा बढी सब्स्क्राइभ रहेको च्यानलमा हजारौंको संख्यामा गीत र फिल्महरु थिए । ती सबै ह्याकरले उडाएपछि बुढासुब्बा टिम तनावमा देखिएको छ । बुढासुब्बाको च्यानल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर फिर्ता ल्याइएको थियो ।
फिल्म प्रदर्शनको मुखमा यूट्युब च्यानल ह्याक भएर सम्पूर्ण प्रचार सामाग्री उडेपछि ‘ए मेरो हजुर ४’को टिम पनि तनावमा देखिएको छ । बुढासुब्बाको यूट्युब च्यानलमा फिल्मको दुई गीत, टिजर र ट्रेलर सार्वजनिक भइसकेको थियो भने चारवटै प्रचार सामाग्रीलाई लाखौं भ्यूज मिलिसकेको थियो । बिहीवार निर्माण टिम सोही च्यानलबाट फिल्मको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा थियो ।
फिल्मको डिजिटल राइट्स बुढासुब्बाले लिएका कारण पुनः गीत, टिजर र ट्रेलर यूट्युबबाट सार्वजनिक हुन सक्नेछ । तर, रिलिजको मुखमा लाखौं भ्यूज पाइसकेका फिल्मका प्रचार सामाग्री यूट्युबबाट हट्दा निर्माण टिम के गर्ने र कसो गर्ने भन्ने अन्योलमा देखिएको छ । झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतको अभिनय छ ।