पृथ्वीबहादुरको ‘वायर फ्रड’, विदेशीलाई ठगेर नेपालका बैंकमा पैसा जम्मा
काठमाडौँ । अमेरिकाको नर्थ क्यारोलिना बस्ने जेम्स रस्सेल फार्मरलाई २०२१ मे २० ९२०७८ जेठ ६ गते० मा जेम्स मोर्गन भन्ने व्यक्तिको फोन आयो। फोनमा मार्गनले खारेज भएको एउटा कम्पनीबाट आफूले पाउनुपर्ने ४८१ डलर रकमान्तरमा सघाइदिने प्रस्ताव राखे। छोराको सहारामा बाँचिरहेका अशक्त फार्मरले प्रस्ताव स्वीकार गरे। एकैछिनमा उनको खातामा ४ लाख ८१ हजार डलर रकमान्तर भएको ‘नोटिफिकेशन’ आयो।
छोरा स्टिफिनले धेरै रकम रकमान्तर भएको बारे सूचित गर्दा मोर्गनले ३ लाख ५० हजार डलर तत्काल उनले भनेको खातामा रकमान्तर नगरे बैंकिङ जालसाजीमा कानूनी कारबाही हुनसक्ने त्रास देखाइदिए। स्टिफिनले पनि मोर्गनले भने बमोजिम कुमारी बैंकको ‘टाइम्स टुडे पिस होलिडे इन्भायरोमेन्ट’ प्रालिको खाता नं। ०१३०११३३०२६००००१ मा स्विफ्टमार्फत रकमान्तर गरिदिए।
केही घण्टामै बाबुको खाता ह्याक गरी ४ लाख ८१ हजार डलर रकमान्तर भएको ‘फेक नोटिफिकेशन’ दिएर आफूलाई ठगेको स्टिफिनले थाहा पाए। नर्थ क्यारोलिनाकै ‘ब्रान्च बैंकिङ एन्ड ट्रष्ट कम्पनी’ ९बीबी एन्ड ट्रष्ट० ले फार्मरको खातामा रकमान्तर नै नभएको बरू उल्टै उक्त खाताबाट ३ लाख ५० हजार डलर नेपालको कुमारी बैंकमा रकमान्तर भएको सूचित गरेको थियो।
पृथ्वीबहादुर शाहको समूहका नाममा २२ वटा कम्पनी अस्तित्वमा देखिएका छन्। तीमध्ये १४ वटा कम्पनीका खातामा चार वर्षमा विदेशबाट करिब ६३ करोड रुपैयाँ भित्रिएको छ।
भोलिपल्ट जेठ ७ गते बीबी एन्ड ट्रष्टले रकम फिर्ताका लागि ‘वायर रिकल’ सन्देश कुमारी बैंकलाई पठाइदियो। तर नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार भनेर रोक्का गरिदिएका कारण सो रकम टाइम्स टुडे पिस होलिडे इन्भायरोमेन्टले झिक्न सकेन र अमेरिकन नागरिक फार्मरले पनि फिर्ता पाउँन सकेनन्। बरु योसमेत पृथ्वीबहादुर शाहको समूहले भित्र्याएको करिब ६५ करोड रुपैयाँ रोक्का भएपछि गभर्नर महाप्रसाद अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबीचको मनमुटाव उत्कर्षमा पुग्यो।
यही विवादका कारण शर्माको पहलमा गभर्नरको निलम्बन र अदालतको अन्तरिम आदेशमार्फत निलम्बनको निर्णय निष्प्रभावीसम्मको घटनाक्रम विकसित भए। २०७८ साउनमा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै शर्मा र अधिकारीको सम्बन्ध राम्रो हुनै पाएन। तर शाहसमेतले भित्र्याएको रकम फुकुवा गरिदिन अर्थमन्त्रीको आदेशमा सचिव मधुकुमार मरासिनीले राष्ट्र बैंकलाई लेखेको चिठी सार्वजनिक भएपछि चाहिँ शर्मा अधिकारीलाई बर्खास्त गरिछाड्न लागि परे।
सरकारले २०७८ चैत २५ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न अर्थमन्त्रीकै नातेदार सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति बनायो। छानबिन समिति बनेपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए।
उक्त रकम फुकुवाका लागि टाइम्स टुडे पिस होलिडे इन्भायरोमेन्टका विनोद सुन्दासले रिट दायर गरेर अमेरिकामा दर्ता भएको ‘मिसन होलिडे एलसीसी’सँग सम्झौता गरी अमेरिकी पर्यटक नेपाल भित्र्याइ सत्कार गरेबापत उक्त सेवा शुल्क पाएको दाबी गरेका थिए।
“अमेरिकामा मिसन होलिडे एलसीसीले अमेरिकीलाई नेपालमा जान सिफारिस गर्ने र यता घुमघामका साथै स्वास्थ्य बीमा आदि सम्पूर्ण प्रबन्ध टाइम्स टूडे पिस होलिडे इन्भायरोमेन्टले गर्ने गर्थ्यो”, रकम फुकुवाका लागि सुन्दासले सर्वोच्चमा दायर रिट निवेदनमा भनिएको छ, “अमेरिकाबाट नेपाल आउनुपूर्व अमेरिकाको बैंकमा जम्मा गरी वित्तीय प्रक्रिया पूरा गरी ९स्विफ्ट कोड० मार्फत यहाँ ९नेपालको बैंकमा० जम्मा हुने व्यवस्था मिलाइएको थियो।”
रिट निवेदनमा नेपाल आउने पर्यटकले नेपाल बसाइमा लाग्ने खर्च वैधानिक ढंगले निवेदक कम्पनीको नाममा पठाएको दाबी पनि गरिएको थियो। “नेपाल आएपछि घुम्ने ठाउको पहिचान, सहज पहुँच, आवतजावत तथा बसाइको सुरक्षित व्यवस्था मिलाएर फर्किने क्रममा नेपालको मुक्तकण्ठले प्रशंसा गरुन्, पर्यटन क्षेत्रमा रहेको नेपालको उच्च छवि बचाइराख्न सकियोस भन्ने अवधारणाका साथ कानून बमोजिम कारोबार गरिरहेकोमा करिब नौ महिनादेखि पर्यटकले अमेरिकाबाट बैंकमार्फत विपक्षी कुमारी बैंकमा पठाएको रकम झिक्न चलाउन नपाउने गरी रोक्का गरिएको छ”, निवेदनमा उल्लेख थियो।
शाहको समूहको सेटिङ कतिसम्म मजबुत थियो भने, स्टिफिनलाई ‘वायर फ्रड’ भएको ३ लाख ५० हजार डलर फिर्ता पाउन माग गरिएको मुद्दा दर्ता हुनै पाँच महिना लागेको थियो। उनका एकजना कानून व्यवसायीका अनुसार शुरूमा वारेसमार्फत मुद्दा दर्ता गर्न नै दिइएन र दरपिठ पनि गरिएन। फेरि, दरपिठ गराइ त्यसविरुद्ध मुद्दा गरेपछि मात्र मुद्दा दर्ता गर्न आदेश दिइएको थियो। स्टिफिनको मुद्दामा पुस २४ गते सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रकाशमानसिंह राउतको इजलासले उक्त आदेश दिएको हो।
गभर्नर निलम्बनको कारकसमेत बनेका तिनै शाह अर्थमन्त्रीबाट शर्मा बाहिरिएको १२ दिनपछि नै पक्राउ परेका छन्। शाहसहित ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुस २२ गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछामको बन्नीगढी गाउपालिका–६ का स्थायी बासिन्दा शाहका साथै भाइ विजय, अछामकै रंगबहादुर साउद, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्माङ्गत काफ्ले छन्।
सबैलाई संगठित अपराधअन्तर्गत म्याद लिई अनुसन्धान अघि बढाइएको छ। “हामी तीन महिनादेखि प्राथमिकतासाथ अनुसन्धान गरिरहेका थियौं”, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले भने, “उनीहरू पक्राउ पर्नुमा तत्कालीन अर्थमन्त्रीको बहिर्गमनको कुनै सम्बन्ध छैन।”
२०२० सेप्टेम्बरमा शाहसमेतको कम्पनीको खातामा आएको १ लाख ४० हजार डलरलाई शंकास्पद मानेर संज्ञानमा लिइएको थियो। उनको समूहका १४ कम्पनीका नाममा ४५ लाख डलर, १५ हजार पाउन्ड र ३ करोड रुपैयाँ गरी चार वर्षमा ६२ करोड ९१ लाख रुपैयाँबराबर रकम भित्रिएको थियो। त्यसमध्ये ११ वटा बैंकमा गरी १५ लाख डलर मात्र बाँकी छ।
उनको समूहका नाममा २२ वटा कम्पनी अस्तित्वमा देखिएका छन्, त्यसमा १४ वटा कम्पनीको खातामा रकम आएको देखिन्छ। २०२१ मार्चमा प्रभु बैंकको ओल्ड एक्सपोर्ट इम्पोर्ट कम्पनीको खातामा रकमान्त भएको ४ लाख डलर एकैचोटिमा भित्रिएको सबैभन्दा ठूलो रकम हो। प्रारम्भिक अनुसन्धानका क्रममा ४४ जनाको रकम ‘वायर फ्रड’ गरी नेपाल भित्र्याएको र त्यसमध्ये नौजनाले मात्र उजुरी गरेको पाइएको छ।