सम्पर्क अधिकृत माथि कडाइ, आधारशिविरमा आरोही टीमसँग तस्विर अनिवार्य खिच्नु पर्ने

काठमाडौं । हरेक वर्ष हिमाल आरोहणको समयमा सरकारले सयौ कर्मचारीलाई आधारशिविरमा पठाउने गर्छ । सरकारले आफ्नो कार्यालय नभएको क्षेत्रमा अस्थायी रुपमा सम्पर्क अधिकृत पठाउने गरेपनि सवन्धित क्षेत्रमा नपुगी भत्ता र काज सूविधा मात्र लिने गरेको पाइएपछि सरकारले कडाइ सुरु गरेको छ ।
पर्यटन विभागले प्रत्येक आरोहण सिजनमा एक आरोहण दलबाट एक जना कर्मचारीलाई सम्पर्क अधिकृतको रुपमा खटाउने गर्छ । यस वर्ष बसन्त मौसममा मात्र ९८ जना कर्मचारीलाई आधारशिविर खटिएका छन् । पर्यटन विभागले सन् २०२२ को वसन्त ऋतुमा पर्वतारोहण दलसँग खटिने सम्पर्क अधिकृतका लागि नियम जारी गरेको छ । जसअनुसार सम्पर्क अधिकृतले पर्वतारोहण दलको आरोहण सकिएपछि आधार शिविरमा आएपछि खिचेको तस्वीर वा भिडियो विभागमा हुने ब्रिफिङका दौरान पेश गर्नुपर्ने भएको छ । यस अघि नक्कली आरोहीहरुको भीड बड्न थालेपछि विभागले कडाइ शुरु गरेको जनाएको छ ।
सम्पर्क अधिकृतहरु पर्वतारोहण दलको अभियान समाप्त नभएसम्म हिमालबाट एक्लै फिर्ता हुन पाउने छैनन् । उनीहरु आधार शिविरमै बस्नु पर्ने छ । सम्पर्क अधिकृत सरकारका प्रतिनिधि भएका कारण हिमालमा आरोहीले पर्वतारोहणबाहेकका गैरकानुनी काम गरेको पाइएमा त्यसलाई रोक्नु पर्ने काममा समेत खटिनु पर्ने भएको छ । हिमालमा भइरहेका र आफ्नो दलका गतिविधि समेत विभागमा नियमित जानकारी गराउन सम्पर्क अधिकृतलाई विभागले सूचित गरेको छ । सामान्यतया एक पर्वतारोहण समूहका लागि एक जना र ठूलो समूह भएमा दुई वा सो भन्दा बढी सम्पर्क अधिकृति समेत खटाउने प्रचलन रहेको छ ।
आधार शिविर जान नसक्ने भए अग्रिम जानकारी दिनु पर्ने
पर्यटन विभागले पर्वतारोहण दलका साथ खटाएको अवस्थामा स्वास्थ्य वा अन्य कारणले आधार शिविरसम्म पुग्न नसक्ने भएमा त्यसको जानकारी विभागमा अग्रिम गराउनु पर्ने भएको छ । त्यस अवस्थामा विभागले वैकल्पिक कर्मचारी खटाउने भएको छ ।
खुम्बु क्षेत्रमा खटाइएका सम्पर्क अधिकृतले सगरमाथा प्रदूषण नियन्त्रण समितिको नाम्चे स्थित कार्यालय र आधार शिविरमा रहेको सो समितिको कार्यालयमा समेत अनिवार्य नाम दर्ता गर्नुपर्ने नियम समेत विभागले सम्पर्क अधिकृतमाथि ल्याएको छ । सगरमाथा यही क्षेत्रमा पर्छ । खुम्बु क्षेत्रबाहेकका हिमालमा खटिने सम्पर्क अधिकृतले भने हिमाल रहेको गाउँपालिका वा वडा कार्यालयबाट आफू त्यहाँ पुगेको प्रमाणित गर्ने कागजात ल्याएर पर्यटन विभागमा अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
सगरमाथा क्षेत्रमा हुने क्रियाकलापको अनुगमन तथा सहजीकरण गर्न विभागले एक उच्चस्तरीय समिति समेत गठन गरेको छ । सम्पर्क अधिकृतहरुले उक्त समितिमा समेत गतिविधिहरुबारे जानकारी गराउनु पर्ने भएको छ । विभागले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ का प्रावधानको पालनामा समेत सचेत हुन सम्पर्क अधिकृतलाई सचेत गराएको छ ।
के हो सम्पर्क अधिकृतको काम ?
पर्वतारोहणका दौरान हिमालमा खटिने सरकारी कर्मचारीले पर्वतारोहण दललाई परेका समस्या सुल्झ्याउन भूमिका खेल्नु पर्छ । आरोहीको साथमा जाने भरियाले बोक्ने भारीको तौल तोकिएभन्दा बढी भएरनभएको सम्बन्धमा निरीक्षण र अनुगमनको जिम्मेवारी समेत सम्पर्क अधिकृतको हो ।
पर्वतारोहणको प्रगति तथा त्यसक्रममा कुनै घटना वा दुर्घटना भएमा त्यसको छिटो जानकारी विभागमा पठाउने जिम्मेजारी सम्पर्क अधिकृतको हो । हिमालमा सरदार, गाइड वा भरियाबीच मनमुटाव हुन नदिने र झगडा हुन रोक्दै पर्वतीय क्षेत्रमा शान्ति कायम गर्न सरकारी कर्मचारीले भूमिका खेल्नु पर्छ । हिमालमा गैरकानुनी काम भए त्यसलाई रोक्ने र सूचना सरकारलाई दिन समेत कर्मचारीले काम गर्नुपर्छ ।
२३ हिमालमा ७४४ जनाले लिए आरोहण अनुमति
पर्यटन विभागका अनुसार सोमबारसम्म कुल २३ वटा हिमालका लागि ७४४ जना आरोहीले अनुमति लिइसकेका छन् । सोमबारसम्म १५६ महिला र ५८८ जना पुरुषले आरोहण अनुमति लिइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै सगरमाथामा ३३ समूहका २६३ जनाले अनुमति लिएका छन् । ल्होत्सेमा १० समूहका ९४ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । सोमबारसम्म विभागले ३९ करोड ५३ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल